काेसेली :: बेइजिङमा किचेन कमान्ड
चिनियाँ राजधानी सहरको ‘बेइजिङ सेराटन’ मा भोजपुरे विष्णु मगर, ४१, को लोभलाग्दो दैनिकी देख्न पाइन्छ । उनी हुन् त्यहाँका एक्जुकेटिभ सेफ । कर्मचारीहरू मात्र ४ सय ६० जना भएको उक्त पाँचतारेमा ४५ प्रतिशत ‘फुड एन्ड वेभरेज’ मा छन्, जसको कमान्ड उनै मगरको हातमा छ ।
होटलमा इटालियनदेखि जापानीसम्म, चिनियाँदेखि मल्टिकुजिनसम्मको दायरा समेट्ने ७ वटा त आलिसान रेस्टुराँ छन्, दिनहुँ हजारौं जुट्ने ठूल्ठूला पार्टी आयोजना हुन्छन् । जसमा पस्किने दजर्नौं स्वाद र परिकारले होटलको इज्जत धानेको छ । मगरले होटल उद्योगमा चल्तीकै भनाइ दोहोर्याए, ‘पाहुनाले होटलका अरू सबै कमजोरी बिर्सन सक्छन्, खानामा भने त्यो लागू हुँदैन ।’
काठमाडौंका पाँचतारेमै पनि नेपाली सेफले कमान्ड सम्हाल्न थालेको धेरै भएको छैन । जति छन् ती औंलामा गन्न सकिन्छन् । त्यसमाथि होटल म्यानेजमेन्ट नपढीकनै, चीनको बाटो नापेर यो तहसम्म पुग्नु चानचुने होइन ।
कक्षा ९ मा पढ्दै गर्दा काठमाडौं छिरेका उनी ठमेलको एक होटलमा भान्छा–सहयोगी बने । ‘तरकारी काट्नेदेखि भाँडा माझ्नसम्म सघाइयो,’ उनले सुनाए । त्यसबीचमा उनले काठमाडौंका झन्डै आधा दर्जन होटल र रेस्टुराँ चहारे, जसबाट हुने आम्दानीकै भरमा अर्थशास्त्रमा स्नातकको पढाइसमेत सके । उनले होटल म्यानेजमेन्ट किन पनि पढेनछन् भने आफू कुनै बेला एक्जुकेटिभ सेफ बनिएला भन्ने उनको मनले कहिल्यै मानेन ।
‘पैसा कमाउनुपर्छ भन्नेचाहिं थियो,’ ठन्डीले समातिसकेको मौसमबीच मंसिरको पहिलो साता होटलकै एक रेस्टुराँमा मगरले सुनाए, ‘बीचमा बिहे भयो, छोरा जन्मिएपछि त औसतभन्दा कमको कमाइले भविष्य चुनौतीपूर्ण लाग्न थाल्यो ।’ लाखौं नेपालीसामु हुने सहज विकल्पझैं उनीसमेत विदेश हान्निन चाहे । उनले मध्यपूर्व ताकिरहेका थिए । त्यसै बेला काठमाडांैमा एक नेपाली साथी भेटिए जसले नेपालीहरूले चलाएको एक रेस्टुराँमा काम गर्न उनलाई सांघाई पुर्याउने भए । यो सन् २००२ तिरको कुरा हो ।